arrow

सामाजिक सद्भाव बिथोल्नेलाई गृहमन्त्रीको चेतावनी: 'धार्मिक विद्वेष फैलाउनेलाई छुट दिइँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
aryal-nirdeshan.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालजस्तो बहुसांस्कृतिक र बहुजातीय देशमा धार्मिक विद्वेष फैलाउने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा कडा आग्रह गरेका छन्। 

सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचैन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष, भ्रामक खबर र सूचनाहरूप्रति नागरिकहरू सचेत रहनुपर्नेमा जोड दिँदै उनले सामाजिक र धार्मिक सहिष्णुता नै नेपाली समाजको पहिचान भएको उल्लेख गरे।

भेटका अवसरमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी सोच र भ्रमहरूलाई चिर्न नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरे। 

उनले आपसी सद्भाव खलबल्याउने र एक-अर्काको धर्म वा आस्थामा आँच पुर्‍याउने गतिविधिहरूलाई सरकारले कडा निगरानीमा राखेको र त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। नागरिक समाजका अगुवाहरूले पनि समाजमा देखिएका चुनौतीहरू र तिनको समाधानका लागि सरकारले चाल्नुपर्ने कदमबारे गृहमन्त्रीलाई सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ