जुरीखेत सुमो दुर्घटना: मृतक छ मध्ये पाँच जनाको सनाखत
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
774
Shares
काठमाडौँ । भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा गम्भीर घाइते भएकाहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका तीन जना र भारतका दुई जना रहेका छन्। हेटौँडा–४ निवासी ४० वर्षीया सबिता लम्साल, वडा नं. २ का २९ वर्षीय निखिल अग्रवाल र वडा नं. १० का ५६ वर्षीय कृष्णप्रसाद फुँयालको मृत्यु भएको छ।
त्यसैगरी, भारतको विहार राज्यका ५० वर्षीय अरबिन्द कुमार र ४२ वर्षीय रजनिस कुमारको पनि दुर्घटनामा ज्यान गएको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। मृतक एक पुरुषको भने अझै सनाखत हुन बाँकी छ।
दुर्घटनामा परी सुमो चालकसहित तीन जना घाइते भएका छन्। चालक गणेश थापा र मृतक सबिताकी १२ वर्षीया छोरी अभ्यास लम्सालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्की घाइते रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
आइतबार साँझ भएको यस दुखद घटनाले हेटौँडा र आसपासका क्षेत्र शोकमा डुबेका छन्। ओरालो र घुम्ती रहेको सो सडक खण्डमा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।