जोखिम न्यूनीकरण तथा विपद्पश्चात पुन:स्थापनासम्बन्धी नीतिपत्र हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
702
Shares
जनकपुर । नेपालमा बाढी आउनु अघिको तयारी, जोखिम न्यूनीकरण तथा विपद् पश्चात पुन:स्थापनासम्बन्धी तयार गरिएको नीतिपत्र मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
जनकपुरधाममा आयोजित समर्पण कार्यक्रममा उक्त नीतिपत्र मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलाई हस्तान्तरण गरिएको छ ।
अमेरिकन सोसाइटी अफ नेप्लीज इन्जिनियर्स (एएसएनइएनजीआर) अमेरिकाद्वारा तयार गरिएको उक्त नीतिपत्रमा नेपालको तराईसहित हिमाल र पहाडी भेगमा आउने बाढीको मुख्य कारण, बाढीबाट बच्न अपनाउनुपर्ने सावधानी, बाढी आईसकेपछि गर्नुपर्ने कार्यहरू र बाढी समाप्त भइसकेपछि गर्नुपर्ने कुरा समावेश गरिएको एएसएनइएनजीआर अमेरिकाका सञ्चालक समितिमध्येका उपेन्द्रलाल कर्णले जानकारी दिए ।
उनले उक्त नीतिपत्रमा विज्ञहरूको टोलीले नेपालका तराईमात्र नभएर हिमाली र पहाडी भेगमा अकस्मात आउने बाढी (हिमताल फुटेर, भूस्खलन) बाट बच्ने उपाय बारे प्रष्ट पारिएको जानकारी दिए ।
उनले उक्त नीतिपत्रमा समावेश गरिएका बुँदाहरूले सरकारलाई बाढीको जोखिमबाट बच्न नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले उक्त नीतिपत्र राष्ट्रपतिलाई पनि बुझाइसकेको र आज मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरेको जानकारी दिए ।
नीतिपत्र बुझ्दै प्रदेश प्रमुख डा. लाभले उक्त नीतिपत्रको आधारमा मधेस प्रदेश सरकारले विपद व्यवस्थापनसम्बन्धी नीति निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।