सुरक्षा निकाय र तस्करको 'अपवित्र गठबन्धन': रौतहटका सबै नाकाबाट संस्थागत तस्करी
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ पुष १८ शुक्रबार
1.2k
Shares
वीरगञ्ज । नेपालतर्फका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान पथलैया तथा भारततर्फका सीमा सुरक्षा बल (एसएसबी), भारतीय सीमा शुल्क, राजस्व खुफिया निर्देशनालय, इन्टेलिजेन्स ब्युरो (आईबी), राष्ट्रिय जाँच एजेन्सी (एनआईए), प्रवर्तन निर्देशनालय (ईडी) र क्वारेन्टाइन विभागको मिलोमतोमा रौतहट जिल्लाका सम्पूर्ण नाका तस्करीका लागि खुला गरिएको छ।
भारतको पूर्वी चम्पारणका स्थायी निवासी मुकेश अग्रवाल हाल वीरगंज आदर्शनगर बस्दै आएकाले आफ्नो नेपाली श्रीमतीको नाममा खोलिएको फर्मबाट तेस्रो मुलुकबाट झिकाइएको ओखर, मगज (खिराको बिउ) चन्द्रपुर बस्ने कुख्यात तस्कर सुनिल जायसवालमार्फत भारतको घोडासहन पठाउने गरेका छन् । घोडासहनका सुबोध सिंहले भारततर्फ सक्रिय सरकारी निकायलाई मिलाउने जिम्मा लिएका छन् ।
नेपालतर्फबाट ओखर, किसमिस, मगज र लाइटर भारततर्फ पठाउने तथा भारतबाट केराउ, काजु, कपडा, चिनी र मोटर पार्ट्सलगायत किराना आइटमहरू नेपाल भित्र्याउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दाहिने हात मानिने गौर नगरपालिका मेयर शम्भु साह, उनका भाइ मनोज साह, राजपुरका रइस इँटाभट्टावाला खुर्शेद, सर्लाही बरहथवाका अन्तोश दास तथा गरुडाका धर्मनाथ साह सक्रिय भूमिका निर्वाह गरेका छन् ।
पिकअप भ्यानमार्फत हुने तस्करीको सामान लोडिङ–अनलोडिङ स्थान बंकुललाई तोकिएको छ। रौतहटका लक्ष्मीपुर बेलबिछवा, गौर भन्सार, महादेवपट्टी, बन्जरहा, रामपुरखाप, औरैया, मठिया, जयनगर, लतमरी र बंकुललगायत सबै नाका तस्करहरूका लागि खोलिएको छ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकाल, मधेश प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्की तथा सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीको प्रत्यक्ष संलग्नता बिना भारी मात्रामा पिकअपमार्फत ओहोरदोहोर गरिने तस्करी कार्य सम्भव नभएको सुरक्षा निकायकै उच्च स्रोत बताउँछ ।
पूर्वप्रधानमन्त्री माधव नेपालको जिल्ला भएको र आम निर्वाचन नजिकिएको कारण भारी मात्राको संस्थागत तस्करी कार्य सम्भव भएको हो। सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकाल यसअघि रौतहट जिल्लामा सशस्त्र प्रहरी उपरीक्षक भएर काम गरिसकेकाले पनि रौतहटका तस्करहरूमाथि मोलाहिजा गरिएको छ ।
नेपाल प्रहरीका तर्फबाट घुमुवा सहायक हवल्दार नविन पाललाई तस्करहरूबाट पैसा असुल्न जिम्मेवारी दिइएको छ।
पैसाको चलखेल बढ्दै गएकोले नेपाल प्रहरीभित्र अनुशासनको खडेरी देखिएको छ। बारा जिल्लाको इलाका प्रहरी कार्यालयका इन्चार्ज सई संजीव मिश्रको सर्विस रिभल्भर उनकै मातहतका व्यक्तिहरूले एक हप्ता अगाडी चोरीछिपी लुकाइदिएको र हालसम्म फेला नपरेको हुँदा युनिटमा कार्यरत सबैलाई मधेश प्रदेश प्रहरी कार्यालयमा झिकाई अनुसन्धान थालिएको छ।