गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा शुक्रबार बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१-००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका-६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, दुर्घटनामा मृतक मनकलाका नाति छ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका-६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लीलावती अर्याल घाइते भएका छन् ।
घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस