arrow

फागुन १४ मै स्ववियु निर्वाचन गर्ने शीर्ष नेताको प्रतिबद्धता

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
FSU.jpeg
काठमाडौँ। फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो । 
 
छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 
“स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ”–उनले भने । 
 
काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई ताला खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर पनि निर्वाचन प्रक्रिया सुरु गरिने बताए । 
 
एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए । 
 
छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतासँग सहयोग माग गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ