लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएसँगै पूर्व पश्चिम लोकमार्ग पूर्णरूपमा बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
892
Shares
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटी सफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका विजय साहको मृत्यु भएको हो ।
उक्त घटना गएराति भएको हो । राति ०१:१० बजे जिल्ला सुनसरी कोशी गाउँपालिका १ यादव टोल चेक प्वाइन्टमा बीओपी लौकही सुनसरीबाट सहायक प्रहरी हबल्दारको कमाण्डमा खटिएको ४ जनाको चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका २ वटा अटो सिटी सफारीलाई चेकजाचँ गर्न खोज्दा अटोमा सवार ब्यक्तिले २ राउण्ड गोली फायर गरी भगाउन खोज्दा सप्रहले बोकेको एसएलआरबाट ५ राउण्ड (७.६२ एमएम) जवाफी गोली फायर गर्दा सिटी चालक लौकही बस्ने साहको घटनास्थलमै मृत्यु भएको हो ।
शवसहित अटो घटनास्थलमा रहेको र अन्दाजी १००/१२० जनाको संख्यामा स्थानीयहरु भेला जम्मा भएका थिए । उक्त स्थानमा नं ४ गणबाट सप्रनाउको कमाण्डमा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।
बिहान ०८:३५ बजे अन्दाजी १५०/१६० जनाको संख्यामा भीड घटनास्थलबाट बीओपीको मेनगेटमा आई ढुङ्गामुढा गर्दा बीओपीमा रहेको सप्रनिको रिजर्भ टोलीले २ सेल ग्याँस फायर गरी तितरबितर गराएको थियो ।
बिहान ०९:३५ बजे शवलाई घटनास्थलबाट पिकअप गाडीमा राखी लौकही चोकमा पुर्याई अन्दाजी ७०० जनाको संख्यामा भेला जम्मा भई पूर्व पश्चिम लोकमार्ग पूर्ण रुपमा बन्द गरेका छन् ।