दुर्गमका सुत्केरीका लागि 'देवदूत' सेनाको हेलिकप्टर
तीन वर्षमा ३१६ महिलाको ज्यान जोगियो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
707
Shares
सुनसरी। विकट पहाडी र दुर्गम भेग, जहाँ सडकको पहुँच पुगेको छैन र अस्पताल पुग्न दिनौँ लाग्छ, त्यहाँका गर्भवती तथा सुत्केरी महिलाका लागि नेपाली सेनाको हेलिकप्टर जीवन रक्षाको मुख्य आधार बनेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित हवाई उद्धार सेवाले मृत्युको मुखमा पुगेका सयौँ आमा र नवजात शिशुलाई नयाँ जीवन दिएको छ।
नेपाली सेनाको तथ्याङ्कअनुसार पछिल्लो तीन आर्थिक वर्षमा मात्रै देशका विभिन्न दुर्गम जिल्लाबाट ३१६ जना गर्भवती तथा सुत्केरी महिलाको सफल हवाई उद्धार गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा १३९ जना, २०८१/८२ मा १३८ जना र चालु आर्थिक वर्षको मङ्सिरसम्ममा ३९ जनाको उद्धार गरिएको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
अनुभव: "सेना भगवान् सरह हुनुभयो" गत असोजमा बाटो भत्किएर थुनिएको भोजपुरको ओख्रेबाट उद्धार गरिएकी ३९ वर्षीया निर्मला राईका श्रीमान् अनुपकुमार राई भन्छन्, "समयभन्दा अगाडि बच्चा जन्मिएको थियो, बाटो सबै भत्किएको थियो। सेनाको हेलिकप्टरले समयमै अस्पताल पुर्याइदिएकाले आज मेरो परिवार सुरक्षित छ। संकटको बेला उहाँहरू हाम्रो लागि भगवान् सरह हुनुभयो।" धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ दिनको उपचारपछि उनीहरू स्वस्थ भएर गाउँ फर्किएका थिए।
कोशी प्रदेशका ओखलढुङ्गा, सङ्खुवासभा र सोलुखुम्बु उच्च जोखिममा भौगोलिक विकटता र स्वास्थ्य सेवाको सीमित पहुँचका कारण कोशी प्रदेशका ओखलढुङ्गा, सङ्खुवासभा र सोलुखुम्बुबाट सबैभन्दा बढी उद्धार हुने गरेको छ। तथ्याङ्कअनुसार ओखलढुङ्गाबाट मात्रै गत दुई वर्षमा ५९ जनाको उद्धार गरिएको छ। लामो प्रसव व्यथा, अत्यधिक रक्तस्राव, गर्भमै शिशुको मृत्यु वा गम्भीर रक्तअल्पता जस्ता जटिल समस्या देखिएका महिलालाई प्रमुख जिल्ला अधिकारी र मन्त्रालयको समन्वयमा तत्काल हेलिकप्टरमार्फत अस्पताल पुर्याइने गरिन्छ।
राज्यको भरोसा गाउँगाउँसम्म आकस्मिक उद्धारका लागि सुर्खेतमा 'स्ट्यान्डबाई' हेलिकप्टर र स्काइ जहाजको व्यवस्था गरिएको छ, जसले सुदूरपश्चिम र कर्णालीका दुर्गम जिल्लामा सेवा दिइरहेको छ। सेनाले केवल उद्धार मात्र गर्दैन, तालिम प्राप्त मेडिकल टोलीसहित पुगेर संवेदनशिल घडीमा मानवीय उत्तरदायित्व पूरा गरिरहेको छ। स्वास्थ्य पूर्वाधार कमजोर भएका ठाउँमा यो कार्यक्रमले राज्यको उपस्थितिको बलियो अनुभूति गराएको छ।