जेन-जी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
828
Shares
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको 'जेन-जी' आन्दोलनका क्रममा बल प्रयोग गर्ने वा गोली चलाउने कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पारेका छन्।
सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोगका लागि निर्देशन दिने अधिकार नदिएको जिकिर गरे। प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने र कति बल प्रयोग गर्ने भन्ने विषय फिल्डमा खटिएका सुरक्षा निकाय र स्थानीय प्रशासनले तत्कालीन परिस्थितिको विश्लेषण गरी निर्णय लिने कानुनी व्यवस्था रहेको उनको तर्क छ।
लेखकका अनुसार शान्तिपूर्ण रूपमा सुरु भएको जेन-जी आन्दोलनमा 'धमिलो पानीमा माछा मार्न चाहने' लोकतन्त्र विरोधी तत्वहरूको घुसपैठ भएकाले घटना हिंसात्मक बन्न पुगेको हो। आन्दोलनकारीका माग जायज भए पनि घुसपैठकै कारण संसद् भवन र बानेश्वर परिसरमा अकल्पनीय हिंसा भएको र पछि आन्दोलनका अगुवाहरूले नै घर फर्कन अपिल गर्नुपरेको उनले स्मरण गराए। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शन गर्ने हकको पक्षपाती रहेको भन्दै उनले कुनै पनि हालतमा यस्ता अधिकार कुण्ठित गर्ने सोच आफ्नो नरहेको बताए।
आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै लेखकले देशमा अकल्पनीय घटना भएपछि गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिएको स्पष्ट पारे। उनले आफ्नो राजीनामापछि भदौ २४ गते भएका हिंसात्मक घटनाहरू जेन-जी पुस्ताको सोच र योजनाभन्दा बाहिरको विषय भएको र ती घटनाहरू राष्ट्रिय अस्तित्व एवं लोकतन्त्र विरुद्ध लक्षित रहेको टिप्पणी गरे।