काठमाडौँ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुर्नवास नगरपालिकाका एक वृद्धाको भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट मृत्यु भएको छ। शनिबार दिउँसो घाँस र दाउराका लागि सीमापारि पुगेका पुर्नवास–६ की ७० वर्षीया सुना निरौला बाघको शिकार भएकी हुन्।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार, निरौलाको ज्यान गएको स्थान नेपाल–भारत सीमा क्षेत्रबाट करिब अढाई किलोमिटर भित्र भारतीय जङ्गलमा पर्छ। स्थानीयले वृद्धाको ज्यान गएको खबर गरेपछि मात्र प्रहरीले यसबारे जानकारी पाएको थियो।
घटना भारतीय भूमिमा भएकाले कानुनी प्रक्रिया र अनुसन्धान भारतीय पक्षबाटै हुने प्रहरीले जनाएको छ। भारतीय सुरक्षा निकाय र वन प्रशासनसँग समन्वयको पर्खाइमा रहेको प्रहरी निरीक्षक कार्कीले बताए।
तर, यो समाचार तयार पार्दासम्म भारतीय पक्षबाट भने यसबारे आधिकारिक जानकारी प्राप्त भइनसकेको प्रहरीको भनाइ छ। सीमावर्ती क्षेत्रका बासिन्दा दाउरा र घाँसका लागि भारतीय जङ्गलमा जाने क्रममा बेलाबेला यस्ता वन्यजन्तुका आक्रमणका शिकार हुने गरेका छन्।