पाँच दशकपछि म्याग्दीको मच्छिममा तामाखानी उत्खननको तयारी, स्थानीय उत्साहित
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
690
Shares
काठमाडौ । म्याग्दीको मच्छिममा २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिए पनि प्रविधिको अभाव र महँगो करका कारण खानी बन्द भएको थियो। अहिले भूगर्भविद्हरूको टोलीले छ ठाउँमा रहेका खानीको खोजतलास र अध्ययन थालेपछि यसले नयाँ आशा जगाएको छ। अध्ययनका लागि मच्छिम–मुना मुख्य सडकदेखि तामाखानीसम्म पुग्ने पहुँचमार्ग समेत निर्माण गरिसकिएको वडाध्यक्ष अशोक खत्रीले जानकारी दिएका छन्।
विशेष गरी खानी खन्ने पुख्र्यौली पेसा भएका छन्त्याल समुदायको बसोबास रहेको यस क्षेत्रमा अझै पनि तामाका धाउहरू र ऐतिहासिक सुरुङहरू स्पष्ट देख्न सकिन्छ। विगतमा यहाँको तामाबाट गाग्री, टाउलो, माना र पाथी जस्ता भाँडाकुँडा बनाएर प्रयोग गर्ने गरिन्थ्यो, जुन अहिले पनि धेरैको घरमा सङ्ग्रहित छन्। स्थानीय बासिन्दाले खानी सञ्चालन गर्दा वातावरणीय सुरक्षामा ध्यान दिन र स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन माग गरेका छन्।
खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दी खनिज पदार्थका लागि निकै धनी जिल्ला हो। मच्छिमका अतिरिक्त गुर्जा, मल्कवाङ, ठाडाखानी र कुइनेखानीमा पनि तामाका भण्डारहरू रहेका छन्। एमएस दोङयी मिनरल्सले मच्छिमसँगै मालिका गाउँपालिकाको ओखरबोटमा पनि अध्ययन गरिरहेको छ।