कानूनी शासन स्थापित गर्न अहिले पनि सकिएनः अर्थमन्त्री खनाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
744
Shares
काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए ।
प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको भन्दै उनले कुनै पनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए ।
उनले 'रुल अफ ल' स्थापित भएपछि मात्रै जेन-जीले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।
आन्दोलनपछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको भन्दै उनले कानूनी शासन स्थापित गर्न अहिले पनि नसकिएको बताए ।
उनले भने, ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ । कुनै पनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदि हामीले गर्न थालियो भने आशा गरेअनुसारको परिवर्तन सम्भव छ । रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । यो स्थापित गरेपछि मात्रै जेन-जीले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण उहाँहरूले शुरुदेखि हामीसँग संवाद गर्ने क्रममा प्रत्येक पटक भन्दै आउनुभएको छ । मन्त्रीज्यूले भनेपछि जे पनि हुने व्यवस्था व्यवस्था नै होइन । कानूनले भनेपछि जे पनि हुने हो । हुनुपर्छ । कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध छैन। यो परिवर्तन पछि पनि मसँग आउने आग्रहहरु राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुपर्यो। अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’
अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरूले वित्तीय प्रशासनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।