arrow

ठमेलको वाल्डो क्यासिनोमा छापा: तासदेखि सेन्सर उपकरणसम्म बरामद, हुन्डीमार्फत करोडौँको कारोबार

अवैध जुवा खेलाउन भारतबाटै चार्टर्ड गरी ल्याइन्थ्यो खेलाडी: गिरोहका नाइकेसहित छ जना पक्राउ, सातको खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
casino-scam.jpg
तस्बिर फाइल

काठमाडौँ । काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने कार्यमा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो इभेन्टका नाममा ठगी र जुवा खेलाउने गिरोहका सदस्यहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा भारतीय गिरोहका मुख्य नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे रहेका छन्। परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका सुरेश महाजन ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’ का सञ्चालक समेत हुन्। यस गिरोहले नेपाल, भारत, श्रीलङ्का, भियतनाम र कम्बोडिया लगायतका देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले क्यासिनोमा छापा मार्ने क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित आधुनिक उपकरण र लेन्स लगायतका सामग्रीहरू बरामद गरेको छ। अनुसन्धानका क्रममा मङ्सिर २५ गते मात्रै उक्त ग्रुपमार्फत करिब ७० जना भारतीय नागरिक नेपाल आएका थिए भने अन्य ग्रुपसमेत गरी जम्मा २ सय जना जुवा खेल्नकै लागि भारतबाट आएको पाइएको छ। जुवा खेल्न आउनेहरूको हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था गिरोहका नाइके महाजनले नै मिलाउने गरेका थिए।

यस अवैध धन्दामा हुन्डीमार्फत ठुलो रकमको कारोबार हुने गरेको तथ्य समेत प्रहरीले फेला पारेको छ। प्रहरी उपरीक्षक भट्टराईले यस कार्यमा संलग्न अन्य सात जनाको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए। क्यासिनोमा अवैध जुवा खेलाउँदा क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको भन्दै प्रहरीले यस सम्बन्धमा थप विस्तृत अनुसन्धान अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ