भदौको आन्दोलनमा कारागारबाट भागेका टसी तामाङ पुनः पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
786
Shares
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा सजाय भुक्तान गरिरहेका फरार कैदी टसी तामाङलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका तामाङलाई ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो।
तामाङ गत भदौ २३ र २४ गते भएको 'जेन–जी' आन्दोलनको क्रममा सिर्जना भएको अन्योलपूर्ण परिस्थितिको फाइदा उठाउँदै केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए। संरक्षित वन्यजन्तु सालकको खपटा ओसारपसार गरेको अभियोगमा गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालय दोलखाले २०७० मङ्सिर १७ गते उनलाई पाँच वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
सोही फैसला अनुसार सुन्धारास्थित जगन्नाथदेवल कारागारमा कैद सजाय काटिरहेका तामाङ कारागारबाट भागेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो। लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएका उनलाई मङ्गलबार पक्राउ गरी बाँकी सजाय भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्युरोले जनाएको छ।