arrow

रणनीतिक महत्वको धारापानी-झिनडाँडा सडक स्तरोन्नति अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
dhorpatan-road.jpg

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धारापानी–ताकम–झिनडाँडा खण्डको स्तरोन्नति कार्यले तीव्रता पाएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार यस आयोजनाको हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भइसकेको छ। मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा हेरिएको यो सडकले म्याग्दीका दुर्गम बस्तीहरूलाई जोड्नुका साथै बागलुङ र रुकुमसम्मको यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँले बताएअनुसार निर्माण कम्पनीले १४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम अघि बढाएको हो। हाल ताकम खण्डमा करिब नौ सय मिटर कालोपत्रका लागि बेस र सबबेस बिछ्याउने काम सकिएको छ भने ६ किलोमिटर दूरीमा सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि चारदेखि पाँच मिटर मात्र चौडा रहेको यो सडकलाई अहिले आठ मिटर फराकिलो बनाइँदै छ।

सडक स्तरोन्नतिसँगै धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्। स्थानीय वडाध्यक्ष अशोक खत्रीले सडकको कामले गति लिएपछि स्थानीयवासीमा उत्साह छाएको बताए। निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसैगरी, दरवाङ–धारापानी र मच्छिम–मुना खण्डमा पनि करिब ५९ करोडको लागतमा कालोपत्र र ढलान गर्ने अर्को योजनाको काम सुरु भइसकेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए।

यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा र काठमाडौँ जानका लागि साविकको मार्गभन्दा ७० किलोमिटर छोटो पर्नेछ। गत असारमा धवलागिरिको केन्द्र मुनादेखि ढोरपाटनको जलजलासम्म सडक सञ्जाल जोडिएपछि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा नयाँ ढोका खुलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ