पेट्रोलबाट सल्किएको आगोले बुहारीको मृत्यु, पारालाइसिस भएका ससुरा गम्भीर घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
965
Shares
सिन्धुली | सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा आइतबार अपराह्न भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा पेट्रोल वा मट्टितेलबाट अचानक आगो सल्किएर दुर्घटना भएको हो।
आगलागीमा परी दुर्गामानकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै ज्यान गएको छ। घरमा आगलागी हुँदा पारालाइसिसका बिरामी रहेका दुर्गामान बम्जन पनि गम्भीर रूपमा जलेका छन्।
उनको दाहिने हात, खुट्टा र ढाडको भागमा गहिरो चोट लागेको छ। जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार गरिए पनि उनको अवस्था जटिल रहेकाले थप उपचारका लागि काठमाडौँ रिफर गरिएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार घटनास्थल सदरमुकामबाट करिब तीन किलोमिटरको दूरीमा पर्दछ। प्रहरीले घटनास्थलको मुचुल्का र शव परीक्षणको प्रक्रिया पूरा गरिसकेको छ।
प्रारम्भिक अनुसन्धानले भान्सामा इन्धन (पेट्रोल वा मट्टितेल) का कारण आगो फैलिएको देखाए पनि घटनाको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।