मन्त्रिपरिषदको निर्णय : प्रहरी अस्पताल प्रमुख पोखरेल निमित्त प्रहरी प्रमुख
उपेन्द्रकान्त अर्यालसहित १५ जना एकै पटक रिटायर्ड
प्रकाशित २०७३ फागुन २ सोमबार
1.9k
Shares
काठमाडौं । प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिइएको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । पोखरेल प्रहरी अस्पताल प्रमुख थिए ।
बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । गृहमन्त्री निधिले बैठकमा नियमावली संशोधनको प्रस्ताव राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निवर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले सोमबार साँझ अवकास पाएका छन् । अर्याल प्रहरी प्रधान कार्यालयबाट औपचारिक रुपमा विदा भइसकेका छन् ।
सरकारले आइतबार डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यद्यपि प्रहरी प्रमुख नियुक्ति प्रक्रियाविरुद्ध शुक्रबार परेको रिटमा सर्वोच्चले आइतबारै निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । मुद्दाको पेशी ८ गतेका लागि तोकिएको छ ।
महानिरीक्षक अर्यालसहित पन्ध्र जना एकै पटक रिटायर्ड
महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीको माथिल्लो तहको ठूलो जनशक्ति सोमबार एकै पटक सेवानिवृत्त भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदार साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापा हुनुहुन्छ । त्यस्तै प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल सोमबारबाट सेवानिवृत्त भएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा अवकाश पाउने सबै वरिष्ठ प्रहरी अधिकृतलाई तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले मायाको चिनो प्रदान गरेर बिदाइ गरे । नेपाल प्रहरीमा नोकरी सेवा अवधि ३० वर्ष कायम छ ।
सेवानिवृत्त भएका सबै २०४३ फागुन ३ गते प्रहरी निरीक्षकमा प्रहरी सङ्गठनमा प्रवेश गरेका थिए । बिदाइ समारोहलाई सम्बोधन गर्दै सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक अर्यालले नागरिकको विश्वास नै प्रहरी सङ्गठनको सबैभन्दा ठूलो पुँजी हो भन्ने पक्षलाई हेक्कामा राखेर काम गर्न सकल दर्जालाई निर्देशन दिए ।
अर्याल २०७० मङ्सिर १ गते नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा भएका सथए । अर्यालको नेतृत्वमा प्रहरी सङ्गठनले दोस्रो संविधानसभाको निर्वाचन, भूकम्पपछिको खोजी, उद्धार र राहत, १८ औँ सार्क सम्मेलनजस्ता कार्य कुसलतापूर्वक सम्पन गर्न शान्ति सुरक्षाको प्रबन्ध मिलाएको थियो । यद्यपि, तराई आन्दोलन र टीकापुर घटनामा प्रहरीका महत्वपूर्ण व्यक्तिहरु समेत प्रहरीले गुमाउनु पुग्यो । डा.पोखरेलले सेवानिवृत्त हुन लागेको प्रहरी जनशक्तिबाट सङ्गठनको विकासमा पुर्याएको योगदानलाई इतिहासले मूल्याङ्कन गर्ने विश्वास गरे ।