arrow

कञ्चनपुर कारागार झडप प्रकरण

नाइकेको रजगज र कैदीबन्दीको विद्रोह: कञ्चनपुर कारागार घटनाको यथार्थ खोजिँदै

छानबिनका लागि सहायक प्रजिअको संयोजकत्वमा समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
kanchanpur-karagar.JPG

महेन्द्रनगर | कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडपको घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ। गत शुक्रबार भएको सो झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लक्ष्मण ढकालले घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्। समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ।

झडपमा घाइते भएकामध्ये दुई जना उपचारपछि कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रजिअ ढकालले आज आफू स्वयं कारागारको अनुगमनमा जान लागेको र घटनाको विस्तृत विवरण समितिले पेश गर्ने बताए।

कारागारका नाइकेहरूले एकाधिकार जमाएको, कैदीबन्दीले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको र कारागारभित्र अवैध गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै कैदीबन्दीहरू आन्दोलित भएका थिए। सोही विवादले उग्र रूप लिँदा झडपको स्थिति सिर्जना भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ