काभ्रेपलाञ्चोक | राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान काभ्रेको पनौतीमा निर्माण गरिने भएको छ। यसका लागि पनौती नगरपालिकाले सरोकारवाला निकायहरूसँग छलफल र अन्तर्क्रियाको प्रक्रिया अघि बढाएको छ।
भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर पनौतीको खोपासी क्षेत्रमा बन्ने भएको हो। यस भौतिक संरचना निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय, पनौती नगरपालिका, भृकुटी प्रतिष्ठान र परामर्शदाता कन्सल्टेन्सीले संयुक्त रूपमा काम थालेका छन्। प्रतिष्ठानका अध्यक्ष विश्व उलकले मल्लकालीन पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु गरिने बताए।
बागमती प्रदेश सरकारले यो आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको छ। परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन र पार्कको स्वरूप तथा लागतबारे जानकारी दिए। उनका अनुसार भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख र पार्क निर्माणमा ५ करोड २ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दुवै आयोजना सम्पन्न गर्न करिब २६ करोड रुपैयाँ लाग्ने उनले बताए।
विभिन्न अध्ययनअनुसार भृकुटीको जन्म विसं ६८१ माघ १ गते राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको पुष्टि भएको छ। पनौतीका नगरप्रमुख रामशरण भण्डारीले खोपासीबाट भृकुटीको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचारप्रसार भएको इतिहासले पनौतीको महत्व बढाएको बताए। खोपासीमा बन्ने यो संरचनाले पनौतीको मात्र नभई समग्र राष्ट्रको ऐतिहासिक र धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ।