देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
752
Shares
काठमाडौँ | हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभरको मौसममा आंशिक बदली रहने देखिन्छ।
हाल देशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागेको विभागले जनाएको छ। तराईका भू-भागमा तापक्रम हल्का घट्ने क्रममा रहेको र बिहानको समयमा लाग्ने हुस्सु वा कुहिरोका कारण दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै,महाशाखाका अनुसार आज राती पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
हुस्सुका कारण विशेषगरी स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक अवरोध आउन सक्ने भन्दै विभागले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। चिसो बढ्दै गएकाले पहाडी र तराईका जिल्लाहरूमा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।