एमाले भित्रभित्रै चुनावको तयारीमा छ, दोहोरो चरित्र नदेखाओस्: प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
2.2k
Shares
काठमाडौँ| 'नेपाली कम्युनिष्ट पार्टी' (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) भित्री रूपमा निर्वाचनको तयारीमा केन्द्रित भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको 'एकता सन्देश सभा' लाई सम्बोधन गर्दै उनले एमालेले बाहिर जे-जस्ता कुरा गरे पनि उसको भित्री गतिविधि निर्वाचनतर्फै सोझिएको जिकिर गरे।
अध्यक्ष दाहालले निर्वाचन नै मुलुकलाई निकास दिने सबैभन्दा सहज विकल्प भएको उल्लेख गर्दै एमालेलाई दोहोरो चरित्र नदेखाई निर्वाचन प्रक्रियामा एकताबद्ध हुन आग्रह गरे। उनले भने, "एमालेले बाहिर जेसुकै बोले पनि उसको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ। त्यसैले 'डबल स्ट्यान्डर' को कुरा नगरौँ, सिंगो राष्ट्रलाई निर्वाचन प्रक्रियातिर लैजान एकजुट होऔँ।"
काँग्रेसले समेत संस्थागत रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेको र जनता पनि बिस्तारै चुनावी माहोलमा होमिएको भन्दै प्रचण्डले अब निर्वाचन सम्पन्न गर्नु नै राष्ट्रको मुख्य काम भएको बताए। केही राजनीतिक दलहरू अदालत (कोर्ट) मा गए पनि अन्ततः निर्वाचन नै राष्ट्रिय आवश्यकता भएको उनको भनाइ थियो। उनले निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा यसबाट पछि हट्न नमिल्ने र यो नै अहिलेको वास्तविक निकास भएको कुरामा जोड दिए।