तस्बिर : फाइल, विद्यादेवी राष्ट्रपति हुँदा प्रधानमन्त्री रहेका केपी ओली बडादशैँको टीका ग्रहण गर्दा ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छिन् ।
एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको टिप्पणी गरिन् ।
“यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ”, पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, “निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।”
केपी ओलीले नै विद्यालाई एमालेमा आउन रोकेका थिए । उनले राष्ट्रपति भइसकेपछि फेरि किन एमालेमा सक्रिय हुने भन्दै आउनै नदिएका हुन् । उनको कार्यकर्ता सदस्यता नवीकरण नभएकै कारण उनी एमालेको ११ औँ महाधिवेशनमा सहभागी हुन पाइनन् ।
उनले अध्यक्ष हुने चाहना राखेसँगै ओलीले उनको सदस्यता नै खारेज गरेका थिए । उनी चुनावमा लड्न नपाएपछि उनको प्रतिनिधित्व गर्दै ईश्वर पोखरेल अध्यक्षमा भिडे पनि ओलीले तेब्बर बढी मतले जित हासिल गरे ।