पर्सा प्रहरीबाट चार करोड भन्दा बढीको सुपारी बरामद, छुटाउन चलखेल
मलेसियाबाट आयात गरिएको सुपारी भारततर्फ अवैध रूपमा निर्यात गर्न भण्डारण गरिएको स्थानमा छापा मारी कुख्यात तस्कर तेजकरण जैनको १८ सय बोरा सुपारी जफत
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ पुष ४ शुक्रबार
843
Shares
वीरगगञ्ज । मलेसियाबाट आयात गरिएको सुपारी भारततर्फ अवैध रूपमा निर्यात गर्ने उद्देश्यले भण्डारण गरिएको स्थानमा पर्सा प्रहरीले छापा मारी कुख्यात तस्कर तेज करण जैनको १८ सय बोरा सुपारी जफत गरेको छ।
मंसिर २९ गते मलेसियास्थित भर्साटायल इन्टरप्रेन्योरियल भेन्चर्सबाट ओम साई प्रोडक्ट्स, महोत्तरीले ९ सय बोरा सुपारी आयात गरेको थियो। यसैगरी पुस २ गते ओम साई प्रोडक्ट्सले मलेसियाको जस्मिन मल्टिट्रेडबाट उस्तै परिमाणमा सुपारी आयात गरी वीरगन्ज भन्सारमा एजेन्ट सुभास पाण्डेमार्फत राजस्व दाखिला गर्दै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो।
तर उक्त सुपारी महोत्तरीको बर्दिबासतर्फ नलगि वीरगन्जको पुरानो भन्सार एरिया नजिक रजत जयन्ती चौक, इनर्वा क्षेत्रमा तेज करण जैनले आफ्नो छोरा निशान्त लुनावतको नाममा रहेको गोदाममा अनलोड गराएका थिए।
मंसिर २९ गते भन्सारबाट छुटाइएको सुपारी गोदाममा राखिएको अवस्थामा र पुस २ गते छुटाइएको सुपारी अनलोड हुँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकको नेतृत्वमा छापा मारी बिहीबार सुपारी बरामद गरिएको हो।
वीरगन्ज भन्सारबाट महोत्तरीको बर्दिबास लैजानुपर्ने गरी छुट्याइएको सुपारी फेरि वीरगन्ज भन्सार नाकाकै अगाडि गोदाममा थन्काएर भारततर्फ अवैध रूपमा पठाउने उद्देश्यले भण्डारण गरिएकोमा कुनै शंका नरहेको प्रहरीको दाबी छ ।
भारत राजस्थान विकानेर जिल्ला नोखा तहसील, नोखा मण्डी वडा नं. ९ लखरा चौक कतला रोडका स्थायी बासिन्दा तेज करण लुनावत जैन पटक–पटक प्रहरी कारबाहीमा परिसकेका व्यक्ति भए पनि पैसाको बलमा उम्किँदै आएका छन्।
भारतले अघोषित नाकाबन्दी गरेको बखत काठमाडौं प्रहरी परिसरले तेज करणको धनलक्ष्मी दाल मिल प्रा.लि. को गोदाममा छापा मारी पचास हजार किलो विभिन्न प्रकारका दाल बरामद गरेको थियो।
सो बखत यिनीमाथि कालोबजारीको अभियोगमा प्रहरीले कारबाही गर्न खोज्दा भारततर्फ फरार भएका थिए। त्यस बेला नेपाली नागरिक शशिकान्त अधिकारी र भारतीय नागरिक रञ्जित प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
कोभिड लकडाउनको बेला गुणस्तरहीन दाल बिक्री गरेको अभियोगमा बारा प्रहरीले कालोबजारीको अभियोगमा कारबाही चलाउँदा त्यस बेलाका प्रजिअलाई मोटो नजराना बुझाई तेज करण २०७७ सालमा हिरासत मुक्त भएका थिए।
२०७८ सालमा वीरगञ्ज भन्सार नाका आईसीपीबाट नै टर्कीबाट (पप्पि सिड्स) पोस्ता दानाको ठाउँमा भन्सारका कर्मचारीहरूलाई मिलाएर कुबेर एक्सिम र धनलक्ष्मी फुडको नाममा मोब सिड १३ वटा कन्टेनरमा दुई लाख ३२ हजार किलो आयात गरी भारततर्फ निर्यात गर्न सफल भएका थिए।
सो बेला प्रहरीले कारबाही गर्न खोज्दा राजनीतिक दबाबका कारण कारबाही हुन सकेन। प्रहरीले सो बखत अफिमको बिउ टर्कीबाट विशाखापट्टनमको बाटो हुँदै नेपाल भित्र्याएको शंका गरेको थियो।
तेज करण पटक–पटक विवादमा परेपछि राज्यलाई झुक्याउन गरिब नेपाली नागरिकको नाममा फर्म दर्ता गरी कारोबार गरिरहेका छन्। पछिल्लो समयमा ओम साई प्रोडक्ट्स महोत्तरी बर्दिबास ठेगाना देखाई मलेसियाबाट सुपारी आयात गरी भारततर्फ तस्करी गर्न खोजिएको पर्सा प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले सुपारी बरामद गरेपछि सामान आफ्नो नभएको र तेज करणका छोरा निशान्त लुनावत जैनसँग ओम साई प्रोडक्ट्सका सञ्चालक युवराज पराजुलीले गोदाम भाडामा लिएको नक्कली गोदाम भाडा सम्झौताका कागज बाँड्न लगाएका थिए।
चार करोड तीस लाख अठचालीस हजार छ सय छैसठ्ठी रुपैयाँ बराबरको सुपारी पर्सा प्रहरीले बिहीबार नै राजस्व अनुसन्धान पथलैयामा बुझाएको छ।
छापामारीको दरम्यान पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक र सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म वीरगन्जका डीएसपी पुरुषोत्तम भण्डारी पनि उपस्थित रहेका थिए।
तेज करण जैन विभिन्न शक्ति केन्द्र मार्फत सुपारी छुट्याउन चलखेल शुरु गरेको बुझिएको छ।