काठमाडौँ । देशभरिका एक सय सात विद्यालयका तीन हजार पाँच सय भन्दा बढी खेलाडीको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ बिहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा शुरू भएको छ ।
थन्डर बोल्ट्स कप २०२५ मा समूहगततर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबलटेनिस, टेनिस, ई-स्पोट्र्सका खेल समावेश गरिएका छन्।
‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उद्घाटन गरेका थिए।
प्रतियोगिता समुद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशक बरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमार सहभागी थिए ।
प्रतियोगिताको विभिन्न खेलको पदक प्राप्तिको आधारमा विजेता टोलीको घोषणा गरिनेछ । प्रथम स्थान प्राप्त गर्ने विद्यालयले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ ।प्रतियोगिता पुस ९ गते सम्पन्न हुने छ।