arrow

तेस्रो 'थन्डर बोल्ट्स कप २०२५' शुरु: एक सय सात विद्यालयका ३५ सय खेलाडी भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
thunderbold-cup.jpg

काठमाडौँ ।  देशभरका एक सय सात विद्यालयका ३५ सयभन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ बिहीबारदेखि जेम्स विद्यालयको खेल मैदानमा शुरु भएको छ।

'सपना देख, विश्वास गर, प्राप्ति गर' भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको यस वृहत् प्रतियोगिताको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले विधिवत् उद्घाटन गरे।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेटजस्ता सामूहिक खेलका साथै पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस र ई-स्पोर्ट्सजस्ता व्यक्तिगत प्रतिस्पर्धाहरू समेत समावेश गरिएका छन्।

प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशक बरुण खड्का, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौड्याल र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित कुमार लगायतको गरिमामय उपस्थिति रहेको थियो।

यस मेगा इभेन्टको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र आपसी सौहार्दताको विकास गर्नु रहेको छ। विभिन्न खेलहरूमा प्राप्त पदकको आधारमा विजेता टोलीको घोषणा गरिने यस प्रतियोगितामा प्रथम हुने विद्यालयले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरद्वारा प्रायोजित र फोटोनद्वारा समर्थित यस प्रतियोगिताको मिडिया पार्टनर अन्नपूर्ण पोस्ट र हेल्थ पार्टनर नेपाल मेडिसिटी अस्पताल रहेका छन्। यसका साथै वान ओर एट र एडुमार्ट लगायतका प्रतिष्ठित कम्पनीहरूले पनि यस आयोजनामा साझेदारी गरेका छन्। विद्यालय स्तरको यो ठूलो खेलकुद मेला आगामी पुस ९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ