एमालेको ११ औँ महाधिवेशनमा निर्वाचित सबैले लिए शपथ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
1.1k
Shares
तस्बिर – केपी ओलीको सचिवालय तथा नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै पहिले अध्यक्ष केपी शर्मा ओलीले शपथ लिए भने त्यसपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।
यस महाधिवेशनबाट केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई तेब्बर मतले पराजित गर्दै तेस्रो कार्यकालका लागि पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचनमा उपाध्यक्ष पदतर्फ पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरेका छन् भने अन्य उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन्।
त्यसैगरी पार्टीको कार्यकारी पद महासचिवमा शंकर पोखरेल पुनः विजयी भएका छन्। उपमहासचिव पदमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराईले जित हासिल गरेका छन्।
सचिव पदका लागि भएको प्रतिस्पर्धामा खगराज अधिकारी, पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी र राजन भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचितहरुले पनि शपथग्रहण गरेका छन् ।
नवनिर्वाचित सबै पदाधिकारीहरूले शपथ ग्रहणका क्रममा पार्टीको विधान र नीतिप्रति पूर्ण निष्ठा राख्दै जनताको सेवामा समर्पित हुने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस महाधिवेशनले एमालेको साङ्गठनिक संरचनालाई थप मजबुत बनाउने र आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी दिनमा सत्ता वा विपक्षी जुन भूमिकामा रहे पनि देशको राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्ने विश्वास लिइएको छ।
११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै एमालेभित्रको चुनावी सरगर्मी शान्त भएको छ भने नवनिर्वाचित नेतृत्वलाई पार्टी सुदृढीकरणको नयाँ जिम्मेवारी प्राप्त भएको छ।
१९ पदाधिकारीमा गोकर्ण विष्ट र योगेश भट्टराईमात्रै ओली क्याम्प बाहिरका हुन् । त्यस्तै १९ सदस्यीय पदाधिकारीमा जम्मा एक जना महिलामात्र समावेश भएकी छिन् ।