जब्दीघाटमा नयाँ पुल निर्माण प्रक्रिया तत्कालै शुरू हुन्छ : कुलमान घिसिङ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
917
Shares
बर्दिया । उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया शुरू गरिएको बताएका छन् ।
उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए ।
अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा क्याविनेटले कार्यविधि पास गरिसकेको बताए । उनले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानूनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताए ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरे पनि बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन नसकेको दु:खेसो गरे ।
सरकारले अघिल्लो आर्थिक बर्षदेखि बजेट विनियोजन गरे पनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै शुरू भएको छैन ।
पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ । पुलको लागत एक अर्ब एक करोड २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए ।
पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदीको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो ।
भासिए पनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पूर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन गरेका थिए । उनले बर्दियाका दौलतपुर र कैलालीको टिकापुर जोड्ने झोलुङ्गे पुल शिलान्यास गरेका थिए ।