कम पारिश्रमिकमा नेपाली कामदार विदेश नपठाऔँ: श्रममन्त्री भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
767
Shares
काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम बजारको मूल्यभन्दा कम पारिश्रमिकमा नेपाली कामदार विदेश पठाउन नहुनेमा जोड दिएका छन्। २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली श्रमिकको उचित मूल्य र सुरक्षाको सुनिश्चितता गरेर मात्र दक्ष जनशक्ति पठाउनुपर्ने बताए।
मन्त्री भण्डारीले हाल विश्वभर १ करोड ७९ लाखभन्दा बढी श्रम आप्रवासी रहेको जानकारी दिँदै नेपालबाट मात्रै वार्षिक ८ लाख ३९ हजार नागरिक रोजगारीका लागि विदेशिने गरेको बताए। यसमध्ये पहिलो पटक विदेश जानेको सङ्ख्या मात्रै करिब ५ लाख रहेको र यो क्रम बढ्दो रहेको उनले उल्लेख गरे। नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २८ प्रतिशत रहे तापनि प्राप्त रकमको ९० प्रतिशत हिस्सा उपभोगमै खर्च हुनुले मुलुकको विकास चक्र प्रभावित भएको उनको भनाइ थियो।
नागरिकको आवतजावत गर्ने व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्दै वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि न्यून मूल्यमा श्रम बेच्न बाध्य पार्न नहुने उनले बताए। "विश्व बजारको माग अनुसारको सीपयुक्त र दक्ष जनशक्ति पठाउनु हाम्रो दायित्व हो," उनले भने। स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न बजारको माग पहिचान गरी सबै तहका सरकार र साझेदार निकायबीच समन्वय आवश्यक रहेकोमा उनले जोड दिए।
वैदेशिक रोजगारीका नाममा मेनपावर कम्पनी र बिचौलियाहरूले दिने दुःख र ठगीप्रति मन्त्री भण्डारीले कडा आपत्ति जनाए। श्रमिकहरूलाई ठग्ने र सास्ती दिनेहरूलाई कारबाही गर्न मन्त्रालयले विशेष संयन्त्र तयार गरिरहेको उनले जानकारी दिए। यसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सँगको सहकार्यमा ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन विशेष अभियान नै सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरे।