एमाले अध्यक्षमा ओलीको 'ह्याट्रिक': झापा विद्रोहदेखि तेस्रो पटक नेतृत्वसम्मको सङ्घर्षपूर्ण गाथा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
2.7k
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेललाई १ हजार ९९ मतको भारी अन्तरले पराजित गर्दै उनी तेस्रो कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्न सफल भएका हुन्। मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु र सङ्घर्षशील नेताका रूपमा स्थापित ओलीले झापा विद्रोहको नेतृत्वदेखि १४ वर्ष लामो कठोर कारावाससम्मको चुनौतीपूर्ण यात्रा तय गरेका छन्।
२००८ साल फागुन ११ गते तेह्रथुमको साधारण किसान परिवारमा जन्मिएका ओलीले बाल्यकालमै मातृस्नेह गुमाए पनि हजुरआमाको रेखदेखमा हुर्किँदै समाजका असमानता र विभेदविरुद्ध किशोर अवस्थादेखि नै प्रश्न उठाउन थालेका थिए। २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा सामेल भएर राजनीति सुरु गरेका उनले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।
पञ्चायती व्यवस्थाको विरोधका क्रममा २०३० सालमा पक्राउ परेका उनले चार वर्ष गोलघरको चरम यातनासहित कुल १४ वर्ष जेल जीवन बिताए। २०४४ सालमा जेलमुक्त भएपछि नेकपा (माले) को केन्द्रीय सदस्य बनेका ओलीले बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०४८ सालको पहिलो आम निर्वाचनमा झापाबाट विजयी भई संसदीय यात्रा सुरु गरेका थिए।
समृद्धि, विकास र राष्ट्रियताका पक्षमा अडिग रहने हठी नेताको छवि बनाएका ओलीले २०७१ सालको नवौँ महाधिवेशनमा पहिलो पटक र २०७८ सालको दसौँ महाधिवेशनमा दोस्रो पटक एमालेको नेतृत्व सम्हालेका थिए। उनी २०७२ सालमा पहिलो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए भने २०७४ सालको निर्वाचनपछि झन्डै दुई-तिहाइ बहुमतसहित दोस्रो पटक सरकारको नेतृत्व गरेका थिए।
हालै २०८१ असारमा चौथो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले भदौमा भएको जेन्जी आन्दोलनपछि राजीनामा दिएका थिए। पार्टीभित्र पुस्तान्तरणको आवाज उठे पनि महाधिवेशन प्रतिनिधिहरूले पुनः ओलीको अनुभवी नेतृत्वलाई नै विश्वास गरेर जिम्मेवारी सुम्पेका छन्, जसका सामु अब बदलिएको राजनीतिक परिस्थितिमा एमालेलाई प्रमुख शक्तिका रूपमा अघि बढाउने चुनौती रहेको छ।