एमाले नेतृत्वमा तेस्रो पटक केपी ओली, पदाधिकारीमा गोकर्ण विष्ट र योगेश भट्टराईमात्रै ईश्वर पक्षबाट
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
2.5k
Shares
काठमाडौँ । नेकपा एमालेको नेतृत्व तेस्रो पटक केपी शर्मा ओलीले सम्हाल्ने भएका छन् । निर्वाचन आयोगले मत परिणामको अन्तिम नतिजा सार्वजनिक नभए पनि ओलीले तेब्बर मतान्तरसहित ईश्वर पोखरेललाई हराएर विजय हासिल गरेका हुन् ।
ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा ईश्वरले ५ सय ६४ मतमात्र पाए ।
त्यस्तै महासचिवमा पनि ओली पक्षीय शंकर पोखरेलले नै जितेका छन् । उनले सुरेन्द्र पाण्डेलाई पछाडि पारेका छन् । शंकरले १ हजार २२८ मत पाए ।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन् ।
उपमहासचिवमा रघुवीर महासेठ, योगेश भट्टराई र लेखराज भट्ट विजयी भएका छन् ।
ईश्वर पोखरेल पक्षका उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै पराजित भएका छन् । ओली पक्षकै उम्मेदवारले जितेका छन् ।
९ सचिवमा महेश बस्नेत सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनले १५४४ मत ल्याए । त्यस्तै पद्माकुमारी अर्याल १५३० मतसहित दोस्रो स्थानमा रहेर जितिन् ।
छविलाल विश्वकर्मा : १५०६, शेरधन राई : १५०३, हिक्मतकुमार कार्की : १३३७, खगराज अधिकारी : १२३१, यामलाल कँडेल : ११८५,
राजन भट्टराई : ११८१, र भानुभक्त ढकाल : ११०८ मतसहित विजयी भए ।
पदाधिकारीमा महिला भने एक जनामात्र आएकी छिन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुको मतगणना भने भएको छैन ।
विद्युतीय भोटिङ मेसिन बाट चिप्स संकलन गर्ने प्राविधिक कार्य सम्पन्न भएपछि निर्वाचन आयोगले मतदानको मुचुल्का उठाएर र प्रतिनिधिहरूको सहमति लिएर गणना प्रक्रिया अगाडि बढाएको थियो ।
बिहीबार बिहान करिब ७ बजे मतदानको सम्पूर्ण प्रक्रिया सकिएको थियो। निर्वाचन आयोगका अनुसार विद्युतीय मेसिनको प्रयोग भएकाले मतगणना शुरु भएको करिब तीन घण्टाभित्रै सबै पदको अन्तिम नतिजा आइसक्ने सम्भावना छ। यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् भने बाँकी ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए ।
यस निर्वाचनबाट अध्यक्ष, महासचिवसहित १९ पदाधिकारीमा दुई जनामात्र ओली खेमा बाहिरका हुन् ।
माओवादी छाडेर आएका उपाध्यक्षका उम्मेदवार रामबहादुर थापा बादल र उपमहासचिवमा लेखराज भट्टले लोकप्रिय मत पाएका छन् ।