arrow

एमाले महाधिवेशन अपडेट: मतगणना शुरु, तीन घण्टाभित्रै नतिजा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
uml-result.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १०:०० बजेदेखि मतगणना कार्य औपचारिक रूपमा शुरु भएको छ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनबाट 'चिप्स' संकलन गर्ने प्राविधिक कार्य सम्पन्न गरी मतदानको मुचुल्का र प्रतिनिधिहरूको सहमति लिएपछि गणना प्रक्रिया अगाडि बढाइएको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।

८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले मतगणना शुरु भएको करिब तीन घण्टाभित्रै सबै पदको अन्तिम मतपरिणाम सार्वजनिक हुने आयोगले जनाएको छ।

बुधबार बिहानदेखि शुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७:०० बजे सफलतापूर्वक सम्पन्न भएको थियो। यस महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका छन्।

यस निर्वाचनमार्फत अध्यक्ष र महासचिवसहित १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीको फैसला हुनेछ। विशेषगरी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको मुख्य प्रतिस्पर्धालाई लिएर अहिले महाधिवेशन स्थल भृकुटीमण्डप र देशभरका कार्यकर्ताहरूमा निकै उत्सुकता र चासो बढेको छ।

विद्युतीय मेसिनको प्रयोगले गर्दा मतपरिणाम छिटो आउने भएपछि सबैको ध्यान अब घोषणा हुने नतिजातर्फ केन्द्रित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ