एमाले महाधिवेशनमा मत नराखेर छत्तीसेमा गनिएका यी हुन् मतदाता
ओली र पोखरेल प्यानलको भाग्य विद्युतीय मेसिनमा कैद, योगेश भट्टराई बने 'अन्तिम मतदाता'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
2.7k
Shares
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार कुल दुई हजार दुई सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार दुई सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान प्रक्रियामा छत्तीस जना प्रतिनिधि अनुपस्थित रहेका थिए । जसमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका छ जना र ३० जना अन्य प्रतिनिधि रहेका छन्। नेता योगेश भट्टराईले अन्तिम मतदाताको रूपमा मतदान गरेसँगै भृकुटीमण्डपमा जारी मतदान कार्य औपचारिक रूपमा सकिएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीबाट मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशी अनुपस्थित भए । त्यस्तै निर्वाचन आयोगकै समिर नेपाल र रचना राजोपाध्यायले मतदान गरेनन् ।
अरु त अरु अनुशासन आयोगकै पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेलले मतदान गरेनन् । लेखा आयोगका अशोक केसीसँगै धनश्याम कोइराला र संजीव रोकायालेसमेत मत हालेनन् ।
महाधिवेशन प्रतिनिधितर्फ कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधनप्रसाद सिंह (सिराहा), राजेन्द्रप्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल (गुल्मी), मीना पोख्रेल, गोमा नेपाली, पल्लवराज भट्ट, तिलक रिजाल र तेजकुमार विकले मत नहालेका हुन् ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। अध्यक्ष ओलीको टिमबाट महासचिवमा शंकर पोखरेल पुनः दोहोरिने प्रयासमा छन् भने पोखरेलको टिमबाट सुरेन्द्र पाण्डेले महासचिव पदमा उम्मेदवारी दिएका छन्।
निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन (प्रयोग गरिएको हुनाले मतगणना निकै छिटो हुने र सम्भवतः आजै दिउँसोसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
विद्युतीय मेसिनमा प्रतिनिधिहरूको मत सुरक्षित भइसकेकाले अबको केही समयमा सुरु हुने मतगणनाले एमालेको आगामी कार्यकालको बागडोर कसले सम्हाल्नेछ भन्ने फैसला गर्नेछ। ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी चयनका लागि भएको यस निर्वाचनको नतिजालाई लिएर देशभरका नेता तथा कार्यकर्ताहरूमा निकै उत्सुकता बढेको छ।