पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
1.6k
Shares
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ।
यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीव्र आलोचना गर्दै यसलाई "ऐतिहासिक गल्ती" को संज्ञा दिएका छन्। म्याड्रिडमा आयोजित एक जलवायु सम्मेलनमा बोल्दै उनले यो निर्णयले युरोपको वातावरणीय छवि र दिगो भविष्यमाथि आँच पुर्याउने बताए।
सन् २०२३ मा ईयूले जलवायु परिवर्तनको लडाइँमा इन्धन गाडी विस्थापन गर्ने निर्णयलाई ठूलो सफलताका रूपमा लिएको थियो। तर, चीनबाट सस्तो विद्युतीय सवारीको कडा प्रतिस्पर्धा र घरेलु बजारमा ईभी प्रतिको आकर्षण सोचेजस्तो नभएपछि युरोपेली कार उत्पादकहरूले प्रतिबन्ध खुकुलो पार्न ब्रसेल्सलाई दबाब दिएका थिए।
नयाँ सहमति अनुसार अब कार निर्माताहरूले उत्सर्जन १०० प्रतिशत हटाउनुको साटो सन् २०२१ को तुलनामा ९० प्रतिशत मात्र घटाए पुग्ने व्यवस्था गरिएको छ, जसलाई वातावरणीय समूहहरूले 'पर्यावरण विरोधी' कदमका रूपमा व्याख्या गरेका छन्।
स्पेन युरोपको दोस्रो ठूलो कार उत्पादक देश भएकाले पनि प्रधानमन्त्री सान्चेजले यसको भविष्यप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले यस्तो खुकुलो नीतिले विद्युतीकरणमा भइरहेको अर्बौँको लगानी जोखिममा पर्ने र 'ग्रीन एजेन्डा' कमजोर हुने चेतावनी दिएका छन्।
यद्यपि, युरोपेली अटो उद्योगको हब मानिने जर्मनीले भने यसलाई "प्रविधिमा लचिलोपन" भन्दै स्वागत गरेको छ। यसले पेट्रोल र डिजेल कारको भविष्यलाई लिएर युरोपेली शक्तिशाली राष्ट्रहरूबीच नै गहिरो मतभेद रहेको प्रस्ट पारेको छ।