arrow

वैदेशिक रोजगारमा हुने ठगी रोक्न सरकारको नयाँ कदम

पुस ८ देखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
sharam-mantralaya.jpg

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी र भ्रामक प्रचारलाई रोक्न आगामी पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सचिव डा. कृष्णहरी पुस्करले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो प्रणाली सुरु गर्न लागिएको जानकारी दिए।

देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर स्थापना गरिने यो सेलबाट कार्यालय समयमा सेवा लिन सकिनेछ।

यस सेलको मुख्य उद्देश्य श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यम विशेष गरी टिकटक र फेसबुक रिलमार्फत फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकून् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षा सुनिश्चित होस् भन्ने रहेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा ‘यति पैसा कमाइन्छ’ वा ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ भन्दै गरिने भ्रमपूर्ण प्रचारबाट श्रमिकलाई जोगाउन यो प्रणाली प्रभावकारी हुने विश्वास मन्त्रालयको छ।

यो सेल मार्फत वैदेशिक रोजगारमा जान चाहनेले कुन देशमा रोजगारीको माग छ, आधिकारिक म्यानपावर कुन हुन्, आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि र आधिकारिक सम्पर्क ठेगाना जस्ता १० वटा प्रमुख प्रश्नको जवाफ प्राप्त गर्न सक्नेछन्।

मन्त्रालयले डिजिटल गभर्नेन्समा अग्रणी स्थान हासिल गरे तापनि अझै ९० प्रतिशत मानिस व्यक्तिगत रूपमै कार्यालय धाउने गरेकाले यसलाई १० प्रतिशतबाट बढाउने लक्ष्य समेत राखिएको छ। मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवसलाई यस वर्ष पुस १ देखि ७ गतेसम्म साप्ताहव्यापी रूपमा मनाउन लागेको छ। यस वर्षको नारा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ तय गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ