arrow

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
khelmaidan-beni.jpg

म्याग्दी। बेनी नगरपालिका-७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ ।

खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका साथै स्थानीय बालबालिका र युवा-युवतीलाई खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको उपभोक्ता समिति अध्यक्ष हिक्मत शेरचनले बताए ।

“खेलमैदानको संरचनाले बराहपाखोबाट आउने बाढीलाई सिधै मङ्गलाघाटको बस्तीमा आउन रोकेको छ”, उनले भने, “खेलमैदान नहुँदा बालबालिका र युवायुवती सडकमै खेल्दा हुने दुर्घटनाको जोखिम पनि घटेको छ ।”

यो खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ । यसअघि खेलमैदान अभावमा बालबालिका सडकमै खेल्दा दुर्घटनाको जोखिम थियो ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको रु १३ लाख सहयोगमा उपभोक्ता समितिले बेनी-दरवाङ सडकदेखि खेलमैदान पुग्ने पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट बनाएका छन् ।

यसअघिका वर्षमा पनि वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखको हाराहारीमा बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम गरिँदै आएको थियो ।

मङ्गलाघाटका दीपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि खेलमैदान जाने बाटोमा पर्ने जग्गा उपलब्ध गराएका छन् ।

जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले मङ्गलाघाटको खेलमैदानलाई विशेष गरेर भलिबल खेल अभ्यासका लागि प्रयोग गर्न थालिएको बताए ।

“खुलामञ्च खेलमैदानमा फुटबल र क्रिकेटसँगै विभिन्न सभा, समारोह, मेला महोत्सव हुने हुँदा खेलकुद गतिविधि सञ्चालन गर्न वैकल्पिक ठाउँको खोजीमा थियौँ”, उनले भने, “बेनीमा भलिबलको छुट्टै खेलमैदान नहुँदासम्मका लागि अस्थायी र वैकल्पिक हिसाबले मङ्गलाघाटको खेलमैदान प्रयोग गर्न थालेका छौँ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ