arrow

खाद्य मुद्रास्फीति ऋणात्मकमा झर्‍यो: समग्र मुद्रास्फीति १.११ प्रतिशतमा सीमित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ। केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो।

समूहगत मुद्रास्फीति (वार्षिक विन्दुगत): राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति (–३.३२%) ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० र ३.६५ प्रतिशत रहेको थियो। प्रतिवेदनअनुसार चालु आवको पहिलो चौमासिकको औसत मुद्रास्फीति १.५३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो।

खाद्य तथा पेय पदार्थ समूहभित्रको अवस्था: गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५%, गैर–मदिराजन्य पेय पदार्थको ३.६१% र दुग्ध पदार्थ तथा अण्डाको १.९७% ले बढेको छ। तर, तरकारी उप–समूहको मूल्य सूचकाङ्क १४.४३%, मरमसलाको ७.८५% र दाल तथा गेडागुडीको ५.३६% ले घटेको छ, जसले गर्दा समग्र खाद्य मुद्रास्फीति ऋणात्मक भएको हो।

गैर–खाद्य तथा सेवा समूहको अवस्था: यो समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.१७%, शिक्षाको ७.५६%, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९%, सुर्तीजन्य पदार्थको ४.८४% र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५% ले बढेको छ। बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ०.२३% ले घटेको छ।

क्षेत्रगत र प्रदेशगत मुद्रास्फीति: ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.६६% ले र सहरी क्षेत्रको १.२६% ले बढेको छ। प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८०%, मधेस प्रदेशको १.७३%, बागमतीको ०.८१%, गण्डकीको ०.३७%, लुम्बिनीको १.२७%, कर्णालीको १.०८% र सुदूरपश्चिमको ०.२६% रहेको छ। काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६%, तराईको १.२४%, पहाडको ०.८८% र हिमालको १.०६% रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ