काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.११% रहेको छ।
विदेशी विनिमय सञ्चिति: कात्तिक मसान्तसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३० खर्ब ५५ अर्ब ५२ करोड (अमेरिकी डलरमा २१ अर्ब ५२ करोड) रहेको छ। हालको सञ्चितिले १७.४ महिना को वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
शोधनान्तर स्थिति: गत कात्तिक मसान्तसम्ममा चालु खाता रु २ खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर रु ३ खर्ब १८ अर्ब ४० करोड बचतमा रहेको छ।
विप्रेषण तथा व्यापार: पहिलो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१.४% ले र अमेरिकी डलरमा २५.३% ले बढेको छ। चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु १ खर्ब ३३ अर्ब ८२ करोड रहेको छ। यही अवधिमा निर्यात ७७.५% ले बढेर रु ९३ अर्ब ५० करोड पुगेको छ भने आयात १८.७% ले बढेर रु ६ खर्ब ९ अर्ब ४५ करोड पुगेको छ।
सरकारी खर्च र राजस्व: पहिलो चौमासिकमा नेपाल सरकारको खर्च रु ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु ३ खर्ब २६ अर्ब ५५ करोड रहेको छ।
बैंकिङ र कर्जा: यही अवधिमा विस्तृत मुद्राप्रदाय ३% ले बढेको छ। कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१% अर्थात् रु २ खर्ब २२ अर्ब ३८ करोडले बढेर रु ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ। त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा १.२% अर्थात् रु ६५ अर्ब ४ करोडले बढेर रु ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४% र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९% रहेको राष्ट्र बैंकले जनाएको छ।
ब्याजदर: यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५% र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७% रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४% र कर्जाको भारित औसत ब्याजदर ७.३८% रहेको छ।