समुद्र तटमा 'आतङ्कवादी आक्रमण': १६ को मृत्यु, बाबु र छोरा सन्दिग्ध
कम्तिमा ४० जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
1.7k
Shares
काठमाडौँ । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा यहुदीहरूको पर्व “हनुक्का” मनाउँदै गरेका समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुका साथै कम्तिमा ४० जना घाइते भएका छन्। न्यू साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले सोमबार यसको पुष्टि गर्दै घटनालाई आधिकारिक रूपमा आतङ्कवादी आक्रमण घोषणा गरेको छ।
गोली हानाहान आइतबार भएको थियो। सिएनएनका अनुसार ज्यान गुमाउनेहरूमा बालबालिकाहरू समेत रहेको यहुदी समुदायका प्रतिनिधिले पुष्टि गरेका छन्।
न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार यस घातक गोलीकाण्डमा संलग्न दुई सन्दिग्ध बाबु र छोरा छन्। ५० वर्षीय बुबालाई प्रहरीले घटनास्थलमै गोली हानेर हत्या गरेको र २४ वर्षीय छोरालाई गम्भीर घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरू अधिकारीहरूले सुरक्षित रूपमा हटाइसकेका छन्।
अधिकारीहरूले घटनापछि बोन्डी समुद्र तट वरपरको क्षेत्र सील गरि अनुसन्धान जारी राखेको तथा हवाई गतिविधिमा प्रतिबन्ध लगाएको बताएका छन्। अनुसन्धानकर्ताहरूले काम गरिरहँदा बोन्डी समुद्र तट र आसपासका सडकहरू बन्द हुने र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको प्रहरीले जनाएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घटनाको निन्दा गरेका छन्। उनले घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमण” को रुपमा वर्णन गर्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गरेका छन्। उनले आनन्दका साथ उत्सव मनाइरहेका यहूदी अस्ट्रेलियालीहरू लक्षित यो यहूदी विरोध, आतङ्कवाद हृदय विदारक भएको बताएका छन्।