इन्धन आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलिया र सिङ्गापुरबीच सहमति, ऊर्जा सङ्कट टार्न नयाँ रणनीति
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
1.9k
Shares
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र त्यसले निम्त्याएको ऊर्जा सङ्कटको सामना गर्न अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चित गर्ने सहमति गरेका छन्। सोमबार जारी गरिएको एक संयुक्त विज्ञप्तिमा दुवै देशले इन्धन आपूर्तिलाई मजबुत बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
अमेरिका, इजरायल र इरानबीचको युद्ध 'स्ट्रेट अफ होर्मुज' वरपर केन्द्रित भएपछि विश्वभर तेलको मूल्यमा उच्च वृद्धि भएको छ। विश्वको कुल तेल र ग्यास आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओगट्ने यस जलमार्गमा अवरोध हुँदा अन्तर्राष्ट्रिय बजार अस्थिर बनेको हो।
अस्ट्रेलिया र सिङ्गापुरले मध्यपूर्वको वर्तमान अवस्था र त्यसले एसिया-प्रशान्त क्षेत्रमा पार्न सक्ने प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। दुवै राष्ट्र पेट्रोलियम पदार्थका साथै प्राकृतिक ग्यास लगायतका आवश्यक वस्तुहरूको प्रवाहलाई निरन्तरता दिन र ऊर्जा सुरक्षालाई सुदृढ पार्न सहमत भएका हुन्।
इन्धनको मूल्य बढेसँगै अस्ट्रेलियामा पेट्रोलको मूल्यमा भारी वृद्धि भएको छ। मूल्यवृद्धिका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएपछि अधिकारीहरूले बासिन्दाहरूलाई अत्यावश्यक सामान मात्र किन्न र सावधानी अपनाउन आह्वान गरेका छन्।
यो सहमतिले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने र सम्भावित ऊर्जा अभावलाई कम गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।