काठमाडौँ । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले आकाशिएको इन्धनको मूल्यबाट नागरिकलाई राहत दिन इन्धनमा लाग्ने कर (एक्साइज ड्यूटी) आगामी तीन महिनाका लागि आधा घटाउने घोषणा गरेका छन्। राज्य र क्षेत्रका नेताहरूसँगको बैठकपछि क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी तेल संकटले इन्धनको मूल्य कीर्तिमानी विन्दुमा पुगेपछि अष्ट्रेलिया सरकारले यस्तो कदम चालेको हो। यस पहलले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २६.३ सेन्टले कमी आउने प्रधानमन्त्रीले बताए। अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) का अनुसार गत आइतबार सकिएको हप्तामा नियमित ‘अनलेडेड’ इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर पुगेर नयाँ रेकर्ड कायम गरेको थियो, जुन अघिल्लो हप्ताको तुलनामा ६.३ प्रतिशतको वृद्धि हो। त्यस्तै, डिजेलको मूल्य पनि ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अस्ट्रेलियन डलर पुगेको छ।
ढुवानी क्षेत्र (ट्रकिङ उद्योग) लाई थप राहत दिन सरकारले ठूला सवारी साधनले प्रयोग गर्ने डिजेलमा लाग्दै आएको प्रतिलिटर ३२.४ सेन्टको ‘रोड युजर चार्ज’ लाई समेत आगामी तीन महिनाका लागि शून्यमा झार्ने निर्णय गरेको छ। अष्ट्रेलियाका कोषाध्यक्ष जिम चालमर्सका अनुसार यी दुई महत्त्वपूर्ण राहतका उपायहरू कार्यान्वयन गर्दा सरकारी राजस्वमा करिब २.५५ अर्ब अस्ट्रेलियन डलर बराबरको भार पर्ने अनुमान छ।
बढ्दो महँगी र जीवनयापनको लागत कम गर्ने प्रयासस्वरूप प्रधानमन्त्री अल्बानिजले राज्य र क्षेत्रका नेताहरूसँग मिलेर 'इन्धन सुरक्षा' सम्बन्धी एक राष्ट्रिय योजनामा समेत सहमति भएको जानकारी दिए। यो योजनाले दीर्घकालीन रूपमा इन्धन आपूर्ति र मूल्य स्थिरीकरणमा सहयोग पुर्याउने सरकारको विश्वास छ।