काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ।
आइतबार शीतलनिवासमा आयोजित एक विशेष कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन बुझाइएको हो। राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरेकी थिइन्।
प्रतिवेदनमा नेपालको समसामयिक सुरक्षा अवस्था, सीमा सुरक्षा, आन्तरिक शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू समेटिएको छ। अन्तरिम सरकारले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सरकारको प्रयासको प्रशंसा गरे। कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको जनाइएको छ।