arrow

युवा रोजगारी व्यवस्थापनका लागि श्रम मन्त्रालयमा 'जेन–जी कक्ष' स्थापना गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
rajendra-shing-bhandari.jpg

काठमाडौँ। अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै 'जेन–जी कक्ष' (सेल) राखेर काम गर्ने बताएका छन्।

आइतबार मन्त्रालयमा जेन–जी आन्दोलनका अगुवाहरूसँग भएको छलफलमा उनले यस्तो जानकारी दिएका हुन्। मन्त्री भण्डारीका अनुसार, मन्त्रालयमा जेन–जीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गरिनेछ। उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने र सीपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए।

जेन–जी सेल स्थापना गर्नका लागि आफूले निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उनले उल्लेख गरे। मन्त्री भण्डारीले रोजगारी र सामाजिक सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उनले भने, "मुख्य मुद्दा भनेको सामाजिक सुरक्षा र रोजगार यी दुई वटा कुराको ग्यारेन्टीलाई कसरी सुरक्षित गर्ने भन्ने मुख्य कुरा यो हो। यसमा तपाईहरूकै प्रत्यक्ष संलग्नतामा, अझ म त के भन्छु भने हाम्रो निर्देशनमा होईन, तपाईहरूकै निर्देशनमा यसलाई अगाडी बढ्छौँ।"

उनले प्रधानमन्त्री सुशीला कार्कीले जेन–जीको भावनाअनुरूप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिए। आफ्नो पहिलो प्राथमिकतामा नै जेन–जी हुने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ