arrow

सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
anil-sing-28-09.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन्।

उन्नाइसौँ संघीय संसद सेवा दिवसको अवसर पारेर आइतवार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद सेवाका कर्मचारीहरूको भुमिका महत्वपूर्ण हुने समेत स्पष्ट पारे।

उनले कानून स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

मन्त्री सिन्हाले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरूको योगदान उल्लेख्य हुने पनि बताए ।

उनले भने, ‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ। जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानून निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसदको विशेष सहयोगीको रुपमा रहेको संसद सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो । संघीय संसदको कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संघीय संसद सेवाको भुमिका महत्वपूर्ण हुन्छ । कानूनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता हो । हामी कानून मन्त्रालयको तर्फबाट पनि एउटा कोशिस थालनी गरेका छौँ । कानूनका शब्दहरू, कानूनका भाषाहरू सरल कसरी बनाउने ? त्यसका निमित्त के हुनसक्दछ भन्ने कुरोका अध्ययन अहिले भइरहेको छ । यसका लागि कानून निर्माण गर्ने संस्था संसदको भुमिका पनि अहम रहन्छ । यसका यहाँहरूको त विशेष भूमिका रहन्छ । संसदको भुमिकालाई प्रभावकारी बनाउन संसद सेवा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ ।’

मन्त्री सिन्हाले संघीय संसदको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ