काठमाडौँ । काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र (केभीएसी) को उद्घाटन भएको छ । शुक्रबार उद्घाटित उक्त भिसा आवेदन केन्द्रको स्थापनाले विभिन्न प्रयोजनका लागि गणतन्त्र कोरिया प्रस्थान गर्ने नेपालीहरूका लागि भिसा आवेदन प्रक्रियालाई उल्लेखनीय रूपमा सहज बनाउने अपेक्षा गरिएको दूतावासले जनाएको छ।
भिसा आवेदन केन्द्र उद्घाटन समारोह ललितपुरको वनस्काई भवनमा सम्पन्न भएको हो । उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ, हानाटुरका प्रमुख कार्यकारी अधिकृत सोङ मी सन, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, स्थानीय व्यापारिक समुदायका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।
हानाटुरकी प्रमुख सोङले उद्घाटन समारोहमा कोरिया र नेपालबीच बढ्दो द्विपक्षीय जनस्तरको सम्बन्धका कारण भिसा आवेदन संख्या तीव्र रुपमा वृद्धि भएको अवस्थामा सहज व्यवस्थापनका कोरिया सरकारले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको प्रसंग उल्लेख गरिन् ।
हानाटुरले चीन, भियतनाम र फिलिपिन्स लगायतका देशमा भिसा केन्द्रहरू व्यवस्थापन गर्ने दक्ष योग्यताका साथै पर्यटन सेवा र भिसा सेवा सञ्चालनमा ३० वर्षको अन्तराष्ट्रिय अनुभव रहेको उल्लेख गरिन् ।
साथै नेपालबाट कोरिया भ्रमणको योजना बनाइरहेका आवेदकहरूलाई उच्चतम सुविधा प्रदान गर्न नेपालमा स्थिर तथा फलदायी सेवा दिनका लागि प्रतिबद्ध रहेको धारणा राखिन् ।
ललितपुरमा अवस्थित भिसा आवेदन केन्द्रले हप्तामा कार्यलय संचालन हुने हरेक दिन भिसा आवेदन (विगतमा बिहानमात्र सीमित) समयलाई हरेक दिन अपरान्ह ४ बजेसम्म विस्तार गरेको छ ।
टेलिफोन परामर्श सेवा भने राति ९ बजेसम्म उपलब्ध गराउने योजना रहेको जनाइएको छ । त्यसैगरी भिषा शुल्क भुक्तानी विकल्पका साथै क्षेत्रगत रुपमा विशिष्ट सेवा उपलव्ध गराएर आवेदन प्रक्रियालाई थप सरल बनाउने अपेक्षा गरिएको छ।
फराकिलो लेआउटको साथ डिजाइन गरिएको केन्द्रले आवेदकका लागि कम्प्युटर सहितको वर्कस्टेशन तथा भिआईपी कोठा पनि उपलव्ध गराएर सबै सेवाग्राहीहरुलाई थप व्यवस्थित सुविधा प्रदान गर्ने योजना रहेको छ।
भिसा आवेदन केन्द्रका प्रतिनिधिले मन्तव्यका क्रममा व्यवस्थित तथा सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेर सेवा उपलव्ध गराउने केन्द्रको प्रतिबद्धतालाई प्रकाश पार्दै भने प्रत्येक क्षेत्रको विशेषता अनुरूप कोरिया भिसा आवेदन केन्द्र सञ्चालन गर्ने धारणा राखे।
आरक्षण प्रणालीको कार्यान्वयन र केन्द्रीकृत कल सेन्टरको सञ्चालन मार्फत, भिसा आवेदकहरूले गणतन्त्र कोरियाको भिसाका बारेमा जिज्ञासा र उनीहरूको आवेदनको वास्तविक अवस्थाका बारेमा सही जानकारी सहजै प्राप्त गर्न सक्ने छन्।
भिसा आवेदन केन्द्रले एसएमएस ट्र्याकिङ र कुरियर सेवाहरू जस्ता महत्वपूर्ण सेवाहरू प्रदान गर्दछ। भविष्यमा सेवाग्राहीको माग अनुरूप अन्य सेवाहरू क्रमशः विस्तार गर्ने योजना रहेको छ।
कोरिया भिसा आवेदन केन्द्रको महत्वपूर्ण उद्घाटन समारोहले नेपालमा कोरियाली भिसाको बढ्दो मागलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुका साथै स्थिर पूर्वाधार स्थापना गर्दै जाने क्रममा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
त्यसैगरी भिसा आवेदन केन्द्रले सभ्य, अनुशासित र अत्यधिक भरपर्दो सेवा उपलव्ध गराएर नेपाल र गणतन्त्र कोरियाबीच आर्थिक आदानप्रदान र निजीक्षेत्र तथा कूटनीति क्षेत्रमा सकारात्मक योगदान पुर्याउनेछ।
केन्द्रले हाल एसएमएस ट्र्याकिङ र कुरियर डेलिभरी जस्ता सेवाहरू प्रदान गर्दै भविष्यमा सेवाग्राहीको आवश्यकताको आधारमा सुविधा तथा सेवाहरू क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
कोरिया भिसा आवेदन केन्द्र यही पुस २ गते बुधबार (२०२५ डिसेम्बर १७ तारिख) बाट सञ्चालन हुनेछ। कोरिया भिसा आवेदेन केन्द्रको स्थापनाले नेपालमा कोरियाली भिसाको बढ्दो मागलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि पूर्वाधार निर्माण हुनुका साथै कोरिया र नेपालबीच जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।