मानवअधिकारलाई राजनीतिबाट अलग राख्नुपर्छ : प्रधानन्यायाधीश राउत
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
813
Shares
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयहरूलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्। उनले मानवअधिकारमा राजनीति प्रवेश गरेमा त्यो विशाक्त हुने उल्लेख गर्दै यसलाई राजनीतिको चक्रव्यूह र चङ्गुलबाट अलग राख्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मानवअधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशील बन्दै गइरहेको बताए। उनले भने, "मानवअधिकारमा राजनीति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्त्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ।" उनले निजी विचार, व्यक्तिको आस्थाभन्दा माथि उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र यसको सम्मान, संरक्षण र संवर्द्धन हुन सक्ने धारणा राखे। मानवअधिकार न्याय र स्वतन्त्रतासँग जोडिएको विषय भएकाले यो बढी संवेदनशील हुने उनको भनाइ छ।
प्रधानन्यायाधीश राउतले गत भदौ २४ गतेको आन्दोलनको क्रममा अदालत, बार एशोसिएशन सबै जलाइएको दुःखद घटना स्मरण गरे। उनले आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुबै जलेको उल्लेख गरे। यद्यपि, अदालत, र अदालतमा भएका हजारौं मुद्दाका मिसिलहरू जलाइए पनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उनले बताए।
नेपाल बार एशोसिएशनको आयोजनामा जनकपुरमा दुई दिवसीय राष्ट्रिय मानव अधिकार गोष्ठी आयोजना गरिएको छ, जसमा देशभरका कानून व्यवसायीहरूको उपस्थिति रहेको छ। बिहीबारसम्म चल्ने गोष्ठीले जनकपुरधाम घोषणापत्र जारी गर्ने जनाइएको छ।