'एक घर एक धारा' बाट आयो खुसी, ‘चन्द्रेभिर’ मा रेलिङ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
654
Shares
कालिकोट । कालिकोटको तिलगुफा नगरपालिका–२ स्थित देवारतोली गाउँका बासिन्दाहरूले अब खानेपानीको चरम सङ्कटबाट मुक्ति पाएका छन्। पुस्तौंदेखि तिलानदीबाट जोखिमपूर्ण भीर तरेर पानी बोक्ने बाध्यताको अन्त्य गर्दै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा 'एक घर एक धारा' कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयको दैनिकीमा ठूलो परिवर्तन आएको छ।
देवारतोलीकी ६८ वर्षीया सानी विकले विगतको कष्टकर दिन सम्झिदै भनिन्, “पानी बोकेरै जवानी बित्यो। भीरबाट कति गाग्रा लडे भनिसक्नु छैन। थकान मार्ने समय पानी खेप्दैमा सकिन्थ्यो। सागसब्जी लगाउन त परै जाओस्।”
गाउँ आउने बाटोमा रहेको भीर (जसलाई स्थानीयले 'चन्द्रेभिर' नाम दिएका छन्) बाट तीन वर्षअघि चामलको बोरा बोकेर घर आउँदै गरेका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्मा चिप्लिएर गम्भीर घाइते भई उपचारमा रु सात लाख खर्च भएको थियो। चन्द्रबहादुरले भने, "भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ। बल्ल पानीको चिन्ता हट्यो।"
पछिल्ला केही दिनयता घरका आँगनआँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेपछि दलित समुदायको करिब ४५ घरका ३०० जनसङ्ख्यामा खुसी छाएको छ। महिलाको समय बचत भएको छ, बालबालिका समयमै विद्यालय जान पाएका छन् र बारिमा खेर गएका पानीबाट सागसब्जी लगाउन थालिएको छ। उब्जिनीले वर्ष दिन खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्दछन्।
नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा लक्जम्बर्ग रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ अन्तर्गत यो सफलता प्राप्त भएको हो। देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विकले गाउँभन्दा करिब चार किलोमिटर माथिको जङ्गलको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरिएको बताए।
कार्यक्रमका जिल्ला संयोजक रवि लामिछानेले गाउँका ४५ घरमा धारा निर्माणका साथै समुदायको मागअनुसार 'चन्द्रेभिर' मा रेलिङ बनाउन समेत सहयोग गरिएको जानकारी दिए।
सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा–३, बदमबाडा टोलका ४८ घरमा पनि 'एक घर, एक धारा' निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ। बदमबाडाका शिक्षक धीरेन्द्र पाण्डेले खानेपानीको चरम सङ्कटका कारण गाउँबाट बसाइसराइ बढ्दै गरेको अवस्थामा यो सुविधा पुगेपछि शैक्षिक गुणस्तरसमेत वृद्धि भएको बताएका छन्।