एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
609
Shares
काठमाडौँ।एनसेलले आम उपभोक्ताहरूको सुविधाका लागि सोमबार (मङ्सिर २२)बाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो।
यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरूप जारी भएको हो। प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको थियो।
“बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेन्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौँ । आवश्यक तयारी पश्चात् नयाँ नम्बर रेन्जका नम्बरहरू वितरण थालिएको छ। साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरू मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरूले उपभोक्ताका साथै सेवा प्रदायकहरूलाई समेत लाभ प्रदान गर्नेछ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तले भने।
नयाँ नम्बरहरू वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा मोबाइल प्रणालीमा आबद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवा प्रदायक कम्पनी, कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूलाई यो नयाँ नम्बर रेन्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ। चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरूले आफ्नो प्रणालीमा नयाँ नम्बर रेन्ज इन्ट्रिगेट/अपडेट गर्न आवश्यक छ।
दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा, सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटिपि) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुन्छ । सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भइरहेको हालको अवस्थामा, मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्त्वपूर्ण माध्यम बनेको छ।