मलेसियाबाट फर्किएर गाउँमै अण्डा उत्पादन: मासिक डेढ लाख कमाइ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
690
Shares
काठमाडौँ । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्।
सन् २०१४ मा मलेसिया पुगेका २६ वर्षीय राना एजेन्टले भनेअनुसार तलब नदिएपछि एक वर्षमै स्वदेश फर्किएका थिए। “मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ,” रानाले भने। मलेसियामा रहँदा मामा नातापर्ने सीताराम राना अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए, जसलाई भेट्न जाँदा रानामा स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलाएको थियो। लगानी नहुँदा केही समय भारतमा रहे पनि फर्किएपछि उनले धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे।
दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेका छन्। अहिले उनको फार्ममा चार हजार कुखुराले अण्डा दिइरहेका छन्। मासिक नौ/दश लाख रुपैयाँको कारोबार हुने गरेकोमा मुनाफा अढाइ लाख रुपैयाँ भइरहेको उनले जानकारी दिएका छन्। उनले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताए। सुरुमा एक हजार पाँच सय कुखुरा पाल्नबाट शुरू गरिएको व्यवसाय अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ भने दैनिक दुई हजार पाँच सयदेखि तीन हजार अण्डा बिक्री हुने गरेको छ।
राणाले कञ्चनपुरमै पहिलो पटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन्। उनले “लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमुलुक जान पर्दैन” भन्दै हाल भइरहेको आम्दानीबाट कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन्। फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको र यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको उनले बताए।
उनले कृषि ज्ञान केन्द्र, पशु कार्यालयलगायतका सरोकारवाला निकायबाट कुनै खालको अनुदान रकम भने नपाएको गुनासो गर्दै स्वदेशमै उत्पादनमूलक कार्यमा जुटेका युवाहरूलाई प्रोत्साहनका लागि सरकारले ध्यान दिनुपर्ने माग गरे। उनले वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरू घर आँगनमै रोजगारी पाउँछन् भन्दै निम्न आयस्तर भएको युवालाई कृषि उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्ने आवश्यकता औँल्याए।