काठमाडौँ। साउदी अरेबियाका लागि पूर्वनेपाली राजदूत प्रोफेसर सुरेन्द्रबहादुर श्रेष्ठको शनिबार ८९ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा सञ्जयले पुष्टि गरेका छन्।
भारतको इलाहावाद विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यापन गराउनुका साथै सरस्वती कलेजका संस्थापकमध्येका एक थिए।
उनले जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रतिष्ठानका उपनिर्देशकबाट सरकारी सेवामा प्रवेश गरेक थिए। उनले तत्कालीन लुम्बिनी र कोसी अञ्चलको अञ्चलाधीश, विश्व सम्बन्ध परिषद्का अध्यक्ष तथा विसं २०३७ पछि गठित संविधान आयोगको सदस्य जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक सम्हालेका थिए।
उनले अमेरिकका विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा समेत काम गरेका थिए भने संयुक्त राष्ट्रसङ्घको महासभामा दुई पटक नेपालको प्रतिनिधित्व गर्दै विज्ञ सदस्यका रूपमा भाग लिएका थिए।
इमान्दार, निर्भिक, न्यायप्रेमी र स्वच्छ छवीका श्रेष्ठको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उनका श्रीमती र दुई छोरा छन्।