खुलासत्रमा सहभागी हुन ओलीको सदस्यहरूलाई विशेष पत्र
२७ गते सल्लाघारीमा उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
2.4k
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यहरूको घरघरमा पत्र (पर्चा) पठाउन थालिएको छ।
पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले जानकारी दिएअनुसार, अध्यक्ष ओलीले लोकतन्त्रका पक्षधर शक्ति एकजुट हुनुपर्ने आवश्यकता महसुस गराउन यो पत्र पठाएका हुन्।
अध्यक्ष ओलीले महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर का रूपमा रुपान्तरित गर्नुपर्ने आग्रह गरेका छन्।
उनले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गरेका छन्। ओलीले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी समेत गरेका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीमा हुँदैछ। उद्घाटनका लागि एमालेले बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाएको सचिव डा. भट्टराईले जानकारी दिए।